काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज ९मंगलबार० संघीय संसद्मा पेस हुँदै छ । आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् ।
स्थानीय तहको निर्वाचनका कारण नीति तथा कार्यक्रम ल्याउन केही ढिलाइ भएको हो । आगामी आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याउनुपर्ने हुन्छ । बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । यही नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दिगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिने जनाइएको छ ।आगामी नयाँ बजेट र सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विविध विषयवस्तु’ यसअघि निजी क्षेत्रलगायत सबै सरोकारवालाको सुझाव संकलन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।












