पुतलीबजारको पहिलो निर्णय: २४ सै घण्टा डायलसिस सेवा र रक्तसञ्चार सेवा प्रदान गर्ने
स्याङ्जा, ९ जेठ । स्याङ्जा जिल्लाको पुतलीबजार कार्यपालिकाको पहिलो बैठकले पुतलीबजार नगरमा डायलिसस सेवा र रक्त सञ्चार सेवालाई प्रभावकारी र सहज बनाउने निर्णय गरेको छ । मृगौला रोगको नियमित डायलिससको लागि बाहिर जानुपर्दा डायलिसस गर्नुपर्ने बिरामीहरुले भोग्नुपरेको कठिनाईलाई मध्येनजर गरी सो निर्णय गरिएको नगर प्रमुख तुल्सीराम रेग्मीले बताउनुभयो । आज बसेको नगर कार्यपालिकाको बैठकले पुतलीबजार नगरपालिकाबाट थप स्वास्थ्यकर्मी र बायोटेक्निसियनको व्यवस्थापन मिलाई स्याङ्जा जिल्ला अस्पतालमै उक्त रोगहरुको सहज रुपमा डायलिसस सेवाको सुनिश्चितता गर्ने निर्णय गरेको मनोज मल्लले बताउनुभयो ।
त्यस्तै कार्यपालिका बैठकले पुतलीबजार नगरक्षेत्रमा भएको ब्लड बैङ्कको समस्यालाई समाधान गर्नका लागि रेडक्रस सोसाइटीसँगको सहकार्यमा यथाशीघ्र ब्लड बैङ्क स्थापनाको पहल गर्ने निर्णय गरेको छ । यसका लागि ब्लड स्टोरेजका लागि सामग्री उपलब्ध गराउन आ।ब। २०७८र७९ मा विपद व्यवस्थापन कोषमा विनियोजित भई बाँकी रहेको बजेटबाट रु १० लाख बजेट उपलब्ध गराउने निर्णय गरिएको छ ।
हालैमात्र स्थानीय निर्वाचनमा निर्वाचित भएर बनेको नयाँ कार्यपालिकाको पदस्थापना सकिएको लगत्तै बसेको पहिलो बैठकद्वारा नै जनसरोकारका विषयहरुलाई सम्बोधन गर्ने प्रयास गरिएको उपमेयर देवी अर्यालले बताउनुभयो । बैठकमा आफूहरुलाई अमूल्य मत दिएर जिम्मेवारीमा पुर्याउने नगरबासीप्रति कृतज्ञता व्यक्त गरिएको छ । त्यस्तै बैठकले नगरपालिकाको संस्थागत अवस्था र नगर क्षेत्रमा सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुका बारेमा प्रमुख प्रशासकीय अधिकृतबाट जानकारी लिँदै यस आर्थिक वर्षमा सम्पन्न गर्न बाँकी रहेका योजना तथा कार्यक्रमहरु यथासमयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाउन नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।@www.khabarbhandar.com












