बुटवलका मेयर पाण्डेद्वारा सफाईकर्मीसंग सहभोज

प्रकाशित मिति:

बुटवल,१५ जेठ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचत मेयर खेलराज पाण्डेयले सफाईकर्मी मजदुरसंग सहभोज गरेर १५औं गणतन्त्र दिवस मनाएका छन् ।मेयरमा निर्वाचित भएदेखि केही न केही रचनात्मक कार्य गर्दै आएका पाण्डेले गणतन्त्र दिवसको अवसरमा सरसफाइकर्मीहरूसँग सहभोज आयोजना गरेका हुन् ।

मजदुर वर्गलाई पनि गणतन्त्र दिवसको अनुभुती होस् भनेर आफूले यस्तो कार्यक्रम आयोजना गरेको नगर प्रमुख पाण्डेयले बताए । ‘गणतन्त्र दिवसमा सफाईकर्मी मजदुरसंग सहभोज गरौं भन्ने लाग्यो र उपमेयरसंग प्रस्ताव राखें, उहांले एकदमै राम्रो भन्नुभयो’–मेयर पाण्डेयले भने । देशमा गणतन्त्र आएको श्रमजिवी वर्गले पनि अनुभूति गर्न पाउनुपर्छ, उहांहरु हेपिएको महसुस नहोस् भनेर आफूले सहभोज कार्यक्रम राखेको नगर प्रमुख पाण्डेयले बताए । नगरलाई सफा र स्वच्छ राख्न सफाईकर्मी मजदुरको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई खुशी बनाउन सके मात्रै नगर सफा र स्वच्छ हुने नगर प्रमुख पाण्डेयले बताए । उनले आगामी नीति तथा कार्यक्रम र वजेटमा सफाइकर्मी मजदुरको तलब भत्ता बृद्धिलाई प्राथमिकतामा राखिने बताए ।

कार्यक्रममा उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले मुलुकमा गणतन्त्र ल्याउन मजदुर बर्गको ठूलो योगदान रहेको भन्दै मजदुर बर्गलाई पनि गणतन्त्रको अनुभुती गराउन सहभोज आयोजना गरिएको बताइन् ।सरसफाईकर्मी मजदुर जितबहादुर दर्जीले यसअघिका मेयर शिवराज सुवेदीले आफूहरुलाई बेवास्ता गरेको र नमस्कार पनि नफर्काएको गुनासो गरे । नयां मेयर आएपछि पहिलोपटक आफूहरुलाई सम्मान दिएको भन्दै उनले खुशी व्यक्त गरे । ‘अहिले विरोध गरेजस्तो होला, तर यसअघिका मेयर शिवराज सुवेदीले हामीलाई पटक्कै वास्ता गर्नुभएन, नमस्कार गर्दा पनि फर्काउनुभएन’–दर्जीले भने–‘अहिलेका मेयर आएपछि हामी एकदमै खुशी छौं, अब हाम्रा समस्या गुनासा सुन्नुहुन्छ भन्ने विश्वास छ । कार्यक्रममा उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए ।