काठमाडौँ/ अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रपरिषद् विस्तार गरेका हुन् । लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् ।आदिवासी समुदायको महिला तर्फबाट लिन्डा बर्नीले पहिलोपटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् ।
त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् ।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।
त्यस्तै, उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नेछन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।प्रधानमन्त्री अल्बानीले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए ।
लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री अल्बानीले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुऱ्याउन आवश्यक पर्ने ७६ सिट जितिसकेकाले उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।












