कांग्रेस नेताहरूले ओलीले जस्तै अहंकार देखाए एमालेकै हालतमा पुर्‍याउने प्रचण्डको चेतावनी

प्रकाशित मिति:

काठमाडौं, जेठ १८ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा धेरै ठाउँ जितेको कांग्रेसका नेताहरूले ओलीले जस्तै अहंकार देखाए एमालेकै हालतमा पुर्‍याउने चेतावनी दिएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आज बुधबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनपछि कतिपय कांग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए।

उनले भने, ‘एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई ठेगान लाउने दिन नआओस्। म कांग्रेसका नेताहरूलाई पनि भन्न चाहन्छु धेरै दम्भ तपाईंहरूमा नआओस्। प्रचण्डले ओलीकै दम्भका कारण एमाले कमजोर हुँदै गएको बताए। ‘माओवादीलाई सिध्याइहालिन्छ भन्ने अहंकारले एमाले अहिलेको अवस्थामा पुगेको हो,’ उनले भने, ‘कांग्रेसले धेरै ठाउँ जित्छ भन्ने त हामीलाई थाहै थियो तर त्यसबाटै दम्भ देखाए एमालेकै अवस्था आउन सक्छ।’

उनले आफू र आफ्नो पार्टी अझै पनि गठबन्धनकै पक्षमा रहेको पनि स्पष्ट पारे। ‘संविधानको रक्षा, लोकतन्त्रको रक्षाका लागि भनेर सुरु गरेको यो गठबन्धनलाई अझ अगाडि लिएर जाने हो,’ उनले भने, ‘तर यो विषयलाई कांग्रेसले हल्का रूपमा नलियोस्।’कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अहंकार चुलिने हो कि भन्ने चिन्ता लागेको बताउँदै उनले भने, ‘हामीले उहाँलाई मेहनत गरेरै प्रधानमन्त्री बनायौं। उहाँ अहिले पनि प्रधानमन्त्री भैराख्नुस् भन्ने हाम्रो चाहना छ। गठबन्धनलाई लाने नै भन्ने छ। उनले अहंकार र दम्भले कहीं नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न उनले कार्यकर्तालाई आग्रह गरे।