पोखरा,२१ जेठ । पोखरा १७ घारीपाटनमा रहेको घारीपाटन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार भएको तालिममा प्रशिक्षकद्धय पोखरा महानगर सहकारी संघका अध्यक्ष वलराम गौतम र नेफ्स्कुनका केन्द्रीय सदस्य कमला गिरीले सकरात्मक विचार, सहकारीमा अवसर र चुनौती, सहकारीमा सञ्चालक समिति तथा कर्मचारीको भुमिका साथै सदस्यहरुले जान्नुपर्ने सहकारीका नियम लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
२०७५ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय २२ शेयर सदस्य रहेको र सहकारीको पुँजी १ करोड ६३ लाख रुपैयाँ रहेको सहकारीका अध्यक्ष कृष्णकला केसी जानकारी दिईन ।प्रशिक्षण अघि उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले सहकारीमा सेयर सदस्य महत्वपुर्ण हुने बताउँदै सहकारीलाई गम्भीर भएर सोच्न सुझाव दिए । एक सहकारी एक उत्पादनमा जोड दिनुपर्नेमा अधिकारीको जोड छ ।
उनले इमान्दारिपुर्वक व्यवसाय गर्ने ठाउँ सहकारी भएको बताउँदै सहकारीले प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरि आर्थिक, सामाजिक उत्तरदायित्व लगायतका कार्यले राष्ट्रलाई नै अमुल्य योगदान दिएको उल्लेख गरे । संस्थाको सञ्चालक सदस्य प्यारी गुरुङले स्वागत गरेको कार्यक्रममा शिक्षा समिति सदस्य राजन जोशीले सहकारीका सात सिद्वान्तको बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव लिलबहादुर जि.सी ले गरेका थिए ।












