पत्रकार महासंघ प्रत्यक्ष निर्वाचनमा जाने !

प्रकाशित मिति:

काठमाडौं,७ पुष । प्रत्यक्ष निर्वाचन प्रणालीमा जान नेपाल पत्रकार महासंघलाई बाटो खुलेको छ । विराटनगरमा बिहीबार सम्पन्न राष्ट्रिय सम्मेलनले खर्चिलो र भड्किलो तरिकाले हुँदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेसामा विकृति बढाएको भन्दै विकल्प खोज्न निर्देश गरेपछि बाटो खुलेको हो । सम्मेलनबाट जारी विराटनगर घोषणापत्रको निर्देशनलाई आत्मसात गर्दै महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लान आफूहरू प्रतिबद्ध रहेको अध्यक्ष गोविन्द आचार्यले बताए ।

सम्मेलनले सदस्यता वितरणको अनुगमन नियमन गर्ने अधिकार प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । यस्तै, निजामती कर्मचारी र निष्क्रिय पत्रकारहरूको सदस्यता नवीकरण नगर्न तथा शुद्धीकरणमा सबै जिल्ला शाखालाई कठोर बन्न पनि निर्देश गरेको छ । साथै संघ, स्थानीय तह र प्रदेश सरकारलाई प्रेस स्वतन्त्रता संकुचित पार्ने कानुन जथाभावी निर्णय नगर्न पनि आग्रह गर्दै संविधानसँग बाझिएका सबै कानुन तुरुन्त खारेज गर्न पनि माग गरेको छ ।