काठमाडौं, जेठ २६ । जनता समाजवादी पार्टी जसपाका सांसद मोहम्मद इस्तियाक राईले मन्त्री परिवर्तन विषयमा पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन्। बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले मन्त्री परिवर्तन गर्न गुटगत भेला गरिएको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको दाबी गरेका हुन्। उनले आफुलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस बिषयमा आफुलाई अनावश्यक रुपमा नमुछ्न आग्रह गरे।
राईले सरकार गठन हुँदा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र केन्द्रीय कार्यकारीणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई मन्त्रीपरिषद्मा पठाउने मौखिक रुपमा बताउनुभएको जानकारी दिए। अहिले पार्टीभित्र देखिएको विवाद अध्यक्ष यादवको एकलौटी निर्णयको बिरुद्ध भएको उनले बताए। राईले अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रुपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको निर्वाचनमा त्यसको असर देखिएको धारणा राखे। स्थानीय तहको निर्वाचनको समीक्षा गर्न पनि अध्यक्ष यादव तयार नभएको उनले बताए। उनले पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गरे।












