बालेन शाहको अर्को चमत्कार, यी अस्पतालमा हुनेछ बिरामीलाई निशुल्क उपचार

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अर्को चमत्कार गरेका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयको अबलोकन गर्न पुगेका शाहले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका शाहले स्वास्थ्यमा निशुल्क उपचार गर्न निर्देशन दिएका हुन । मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरेका थिए ।

अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्। उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’

काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।

मेयर शाहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ(नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गरिने बताए।