लोकप्रिय बन्दै स्मार्ट शौचालय

प्रकाशित मिति:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ ।महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।

आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ ।सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौँमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् ।सार्वजनिक शौचालयको सफल व्यवस्थापनकै कारण नेपालले विभिन्न राष्ट्रमा आयोजित प्रतियोगितामा सहभागी भई पुरस्कार जित्ने अवसरसमेत पाएको छ ।

ललितपुर महानगरपालिका, मङ्गलबजारस्थित पुरानो सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सन् २०२० को फेब्रुअरीदेखि स्मार्ट बनाइएको थियो ।नेपालको स्मार्ट शौचालयले दिगो विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घीय विज्ञान, प्रविधि र नवप्रवर्तन मञ्च, २०२० अवार्ड जित्न सफल भएको थियोे ।त्यस्तै सन् २०२१ अगस्तमा विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा आयोजित प्रतियोगितामा शौचालय सफाइ विधामा एरोसान हब अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अन्तिम पाँचमा पुग्न सफल भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।