जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान

प्रकाशित मिति:

काठमाडौं, असार ६ – सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पाण्डेलाई मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्। अदालतको आदेशलगत्तै पाण्डेलाई डिल्लीबजार कारागार पठाइएको छ।

पाण्डेमाथि सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताकी प्रतिस्पर्धी लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो। एक महिनाअघि एक युवतीले आठ वर्षअघि आयोजना गरिएको सौन्दर्य प्रतियोगिता र आफूमाथि भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । पीडित युवतीले टिकटकमा २० वटा भिडियो क्लिप श्रंखलावद्ध रुपमा सार्वजनिक गर्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पाण्डेले आफूमाथि बलात्कार गरेको बताएकी थिइन्।

पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो। हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो । यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो । पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ।