प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर – गृहमन्त्री
काठमाडौं, असार ६ – गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको समन्वयमा नेपाली जनतालाई सुरक्षाको समुचित प्रबन्ध गर्ने सबैको साझा दायित्व रहेको बताए। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुलुकको सुरक्षा चुनौतीलाई सामना गर्न कसरी जाने, सुरक्षा संयन्त्रलाई चुस्त पार्ने विषयमा महत्वपूर्ण विचार सांसदहरुबाट आएको उल्लेख गर्दै उनले नेपाल प्रहरी सीमित स्रोतसाधनबाट जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिएको स्मरण गरे।
सुरक्षाका नयाँनयाँ चुनौती बढिरहेका सन्दर्भमा अझै प्रविधियुक्त र साधन स्रोत बनाउने कुरामा सरकारको ध्यान गएको उनले बताए।विधेयकबारे समितिमा छलफल हुने र अझै समृद्ध बनाउने विषयमा सांसदबाट आएका सुझावमा आफू सकारात्मक रहेको उनले बताए। जनतालाई छिटो र चाँडो सुरक्षा प्रबन्ध मिलाउने कुरामा सरकारको ध्यान रहेको उनको भनाइ थियो। प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक हुने हुँदा सुरक्षा व्यवस्था र सीमावर्ती सुरक्षा संवादमा समेत सहज हुने कुरा सकारात्मक रहेको उनले बताए। अहिलेको ऐनमा प्रहरी नायब महानिरीक्षक प्रमुख हुने व्यवस्था छ।












