मूल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्था सिर्जना भयो

प्रकाशित मिति:

काठमाडौं, असार ६ – सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन्। उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन्। रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भइरहेको निरन्तरको मूल्यवद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन्।

उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन्। साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे। उनले आफुहरु गाडी व्यवसायी मात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको बताए।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको बताए। उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए।अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए। उहाले पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे। यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए।