राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग

प्रकाशित मिति:

काठमाडौं, असार ९ – गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ। सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताए।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने उनको भनाइ थियो। गैरआवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो। एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था उपयुक्त भएको बताए। एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।