बैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्नेमा गल्याङ नगरप्रमुख भट्टराईको जोड

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङमा सुरक्षित आप्रवासन (सामी) परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको सामी परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले बाध्यता बनेको बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले बेरोजगारीको चरम समस्या रहेको देशको अवस्थाका कारण बैदेशिक रोजगारी विकल्प बनेको बताउनुभयो ।नगरप्रमुख भट्टराईले भन्नुभयो –‘अहिले नेपाली श्रम बजारमा बर्षेनी साढे चार लाख नयाँ श्रम शक्ति आउने गरेको तथ्याङ्क छ । यो मध्ये बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यान दिनुपर्नेछ ।’ उहाँले कामको जानकारी विना बैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्नुपरेको भन्दै यसका लागि गल्याङ नगरपालिका भरी नै सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख भट्टराईले नयाँ श्रम शक्तिलाई अवसरको रुपमा राज्यले लिनुपर्ने बताउनुभयो ।कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सुरक्षित बैदेशिक रोजगारीका लागि नगरभरी नै अभियान सञ्चालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।नगरपालिकामा रोजगारीको अवसरका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तयारीमा रहेको भन्दै उहाँले बाध्यताबश बैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।स्विस सरकारसँगको सहकार्यमा सञ्चालन भैरहेको सामी परियोजना स्याङ्जा सहित ३९ जिल्लामा लागू भएको परियोजनाका क्षेत्रीय संयोजक भागिराम थारुले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले नेपालबाट कानुनी बाटो प्रयोग गरेका मात्रै ५६ लाख भन्दा बढि बैदेशिक रोजगारीमा रहेका छन् । स्याङ्जाबाट यस वर्ष छ हजार चार सय ५९ जना बैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ । कार्यक्रम संयोजक एक ना्रायण सापकोटाले गल्याङ नगरपालिका सहित जिल्लामा सुरक्षित बैदेशिक रोजगारीका लागि संस्थाले काम गरिरहेको बताउनुभयो ।