काठमाण्डौ / पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द भएको छ ।सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।
हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ । पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।यसैबीच, काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ।
पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ ।धादिङको गल्छी गाउँपालिका ५ को बैरिनीमा राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।












