काठमाडौं – रोजगारीका लागि भौतारिनुपर्ने युवाले अब चिन्ता गर्नु नपर्ने भएको छ । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकले युवा लक्षित आकर्षक कार्यक्रम कार्यान्वयन गर्ने योजना ल्याउँदैछ । जसका लागि कांग्रेसले आन्तरिक तयारी गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६ देखि ४५ वर्ष उमेरसम्मका युवा उद्यमी लक्ष्य गरी सहुलियतपूर्ण ऋण दिने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । कांग्रेस महासमिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको ‘नेपाली कांग्रेसको आर्थिक नीति प्रस्ताव’ मा नवीन सोचसहितको युवा जाँगर र उद्यमशीलता उपयोग गर्न युवा उद्यमीलाई सुहलियतपूर्ण ऋण दिने नीति ल्याइने उल्लेख छ । कांग्रेसको आर्थिक नीति प्रस्तावअनुसार तरुण सीपवृत्ति, स्नातक उपाधि हासिल गरेका तर बेरोजगारी शिक्षित युवालाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरेवापत भत्ता, कम शिक्षा हासिल गरेका अन्य युवालाई दक्ष बनाउन ऋण र निरन्तर तालिम, १ सय २० दिने रोजगारीको ग्यारेन्टीलगायत कार्यक्रमले ठाउँ पाउने गरी वृहत युवा केन्द्रित नीति ल्याइने छ ।
त्यसैगरी कांग्रेसले ‘नागरिक रिपोर्ट कार्ड’ जस्ता सरकारलाई जवाफदेही बनाउन अपनाइने विश्वव्यापी लोकतान्त्रिक विधि आफ्नो सरकारले अनिवार्य अवलम्बन गर्ने जनाएको छ । युवालाई राष्ट्रको इतिहास, संस्कृति, सम्पदा, नागरिक दायित्व लगायतबारे सचेत गराउँदै राष्ट्रिय एकतामा प्रतिबद्ध, सद्भाव र सहिष्णुताबाट स्वस्थ जीवन बाँच्न प्रशिक्षित गर्ने अभियान सुरु गरिने उल्लेख गरेको छ । पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवा लक्ष्य गरी रोजगारी र उद्यमशीलताको विकास गरिने छ,’ सहमहामन्त्री महतले भने युवा शक्तिलाई विज्ञान तथा प्रविधि, अध्यययन–अन्वेषण र नवीन प्रविधि विकासमा लाग्न उत्प्रेरित गरिने छ भने नेपालमै स्वरोजगारी वा रोजगारका निम्ति युवालाई दक्ष र योग्य बनाउन वृहत लगानी नीति कार्यान्वयनमा गरिने छ । कांग्रेसले कृषिमा रहेको ६० प्रतिशतभन्दा बढीको रोजगारी निर्भरता घटाउन उद्योग, कृषि र सेवा क्षेत्रको उत्पादकत्व बढाउन आवश्यक रहेको तथा ४३ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा रहेको भन्दै तिनलाई आफ्नै देशमा काम दिन नसकुन्जेल देशको विकास भएको मान्न नसकिने उल्लेख गरेको छ ।
कांग्रेसको आर्थिक नीति प्रस्तावअनुसार चालू सन् २०१८ मा नेपाल भित्रिने कूल विप्रेषणको आकार ८ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान छ भने यहाँबाट पनि करि ३ अर्ब डलरहाराहारी विप्रेषणका रूपमा भारत तथा अन्य देशमा जाने अनुमान छ । यस्तो अवस्थामा युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्न जरुरी छ । ठूलो संख्यामा विदेशमा काम गर्ने युवालाई स्वदेशमै प्रशस्त रोजगारीका अवसर सिर्जना हुन अवस्था नआएसम्म विदेशमा काम गर्न जाने युवाको सीप वृद्धि, गुणस्तरीय रोजगारी र रोजगारी सुरक्षालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति कांग्रेसको हुनेछ,’ सहमहामन्त्री महतले भने । कांग्रेसले अगाडि सारेको आकर्षक योजनामा अधिकांश नेता कार्यकर्ताले समर्थन जनाउँदै कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।












