अमेरिका अवसरको मुलुक त हो, तर यहाँ आउने जोसुकैले पनि शुन्यबाट आफ्नो जीवन सुरु गर्नुपर्छ : समाजसेवी पार्वती लामा

प्रकाशित मिति:

मुकुन्द सुवेदी   न्यूयोर्क । रामेछाप जिल्लाको एउटा विकट गाउँ गागल भदौरे खाँडादेवी गाउँपालिकामा जन्मेकी पार्वती थोकर लामा अमेरिकामा बस्ने नेपालीहरुका लागि साँच्चिकै प्रेरणादायी सामाजिक कार्यकर्ताका रुपमा परिचित छिन् । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरभन्दा थोरै छेउ रिचमण्डमा बस्ने उनी झन्डै २५ वर्ष पहिले अमेरिका आएकी हुन् । एकल महिला पुरुष हुन वा दु:ख पीडा पाएका जोसुकैलाई पनि उनी हरपल मद्दत गरेर उनीहरुका समस्या समाधान गरिदिएर नेपाली समाजमा एउटा राम्रो चिनारी बनाएकी छन् । सुरु सुरुका दिनमा आफ्नो संघर्षका कथा ब्यथा सुनाउँदै उनी भन्छिन्– ‘अमेरिका अवसरको मुलुक त हो, तर यहाँ आउने जोसुकैले पनि शुन्यबाट आफ्नो जीवन सुरु गर्नुपर्छ ।’

आफू नेपालमा के पद वा ओहोदामा थिएँ भन्ने कुरा छोड्नुपर्ने एवम् बिर्सेर नयाँ मुलुकमा आएको छु, यहाँको कानुनलाई पूर्ण पालना गर्छु भन्ने दृढ संकल्प हुनुपर्छ । अमेरिकामा कडा परिश्रम गरेर राम्रोसँग पैसा बचत गर्न सक्यो भने आर्थिक समृद्धि छिटो हुन्छ, जीवनलाई सहज बनाउन सकिन्छ उनको हरेक नेपालीहरुलाई यही सुझाव छ ।सानैदेखि विद्रोही स्वभावकी पार्वती स्पष्टसँग सबैलाई भन्छिन– ‘आफ्नो काम राम्रोसँग गर्नु झुट बोल्ने काम छोड्नु र अल्छी नगर्नु अमेरिकामा । यदि काम राम्रोसँग नगर्ने, अल्छी गर्ने र गफगाफमा भुलेर आर्थिक समृद्धिको सपना देख्ने हो भने कदापि सफल भइदैन । अन्त्यमा जीवन बर्वाद हुन बेर लाग्दैन । त्यसो त पार्वती लामाले श्रीमान पीडित, श्रीमति पीडित र एकल महिला पुरुषहरु धेरैको उद्दार गरेकी छन् । धेरैलाई आफ्नो घरमा आश्रय दिएकी छन् । काम खोजी दिएकी छन् । न्यायलयको ढोकासम्म पुगेर ीडितलाई न्यायसमेत दिलाएकी छन् ।

‘नेपाली महिला मात्र होइन, पुरुष पनि पीडित छन् किनकी उनीहरुलाई राम्रो सुझाव र सरसल्लाहको खाँचो छ । कतिपय त साँच्ची कै बद्मास पनि छन्’ उनी भन्छिन् । नेपाली महिलाहरुलाई शिक्षामा नै जोड दिनुपर्ने तर्क गर्दै पार्वती अगाडि भन्छिन्– छोरीलाई शिक्षामा नै लगानी गर्नुपर्छ, शिक्षाले नै मानिसलाई सक्षम र प्रभावशाली बनाउँछ । विकसित देशमा सबैको पहिलो रोजाइ शिक्षा हुने गर्दछ । नेपालमा पनि गाउँ गाउँमा यो लहर आएको छ । यो खुशीको कुरा हो, तर यसलाई अब प्राविधिक शिक्षामा जोड्पर्छ । विभिन्न माध्यमबाट अमेरिका आउने बस्नेहरुलाई उनको सुझाव छ– सीप सिकेर आउनुस, जस्तै धारा पानी बनाउने, विजुलीको घर बनाउने, बस, ट्रक ड्राइभिङ गर्न सक्ने, मोबाइल मर्मत तथा घरको कामहरु गर्न सक्ने भएमा अमेरिकामा सजिलो काम पाइन्छ । पैसा पनि कमाउन सकिन्छ । उनी भन्छिन्, अमेरिका श्रमको सम्मान गर्ने मुलुक हो, त्यसैले यो वा त्यो काम गर्छु भनेर लजाउनुपर्ने छैन । वास्तवमा हाम्रो देश नेपाल पछि परेको मुख्य कारण हामीलाई काम गर्दा लाज लाग्छ, अनि कहाँबाट हुन्छ आर्थिक समृद्धि ।

दुई छोरीकी आमा पार्वतीका एकजना दाइ नेपालमा चर्चित गीतकार डीडी थोकर लामा हुन्हुन्छ । पारिवारिक वातावरण नै सामाजिक काम नै व्यस्त हुने भएकाले अमेरिका आए पनि त्यसले छोड्न सकेन मलाई पार्वती आफ्नो पारिवारिक इतिहास सम्झदै भन्छिन् । अमेरिकाका प्राय: सबै ठूला संस्थाहरुमा रहेर काम गरेकी उनी नेपालीहरुमा जुन किसिमको एकता हुनुपर्ने हो त्यो नहुँदा कहिलेकाहिँ दिक्क मान्ने गर्दछिन् । अमेरिका अफ्रिकन अमेरिकन ल्याटिनो अमेरिकन, भारतीय, अमेरिका चिनियाँ अमेरिकन यूराृपियन अमेरिकन बीच जुन एकता छ, परम्परामा सद्भाव छ जसले उनीहरु ठूला ठूला पदमा पुगेका छन् । हामी नेपाली मुलका नेपाली, भुटानी, भारतीय र बर्मेली मिलेर जाने हो भने सफल हुन सकिन्छ ।

नेपालमा व्यवस्था परिवर्तन भए पनि मानसिकता र पात्र उही भएकाले धेरै विकास हुन सकेको छैन । त्यसैले अब सकरात्मक सोच राखेर आफूले आफूलाई सोध्नुपर्ने पार्वतीको धारणा छ । हुन त पार्वती थोकर लामा जस्ता परदेशमा हुने धेरै नेपाली चेलीहरुले आफ्नो माइती देश नेपाल आउँदा अन्तर्राष्ट्रिय विमानस्थलमा भोग्नुपरेको समस्या सदैव सुन्न र देख्न सकिन्छ । त्यस’ बारे पार्वती भन्छिन्, अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने विदेशी नेपाली जोसुकैलाई कुनै समस्या र झन्झट नगरी दिने हो भने ३० प्रतिशत पर्यटन नेपालमा बढिहाल्छ । त्यहाँ पुग्ने वित्तिकै हरेकको मन बद्लिन्छ अनि नेपालप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ त्यो सर्वप्रथम सुधार्न जरुरी छ । रामेछाप खोटाङ, दोलखालगायत धेरै ठाउँमा विभिन्न सहयोग गरेकी पार्वती थोकरको भावनालाई राज्यले कदर गर्न सके अरु पार्वतीहरु समाजसेवामा आइरहन्छन् ।