नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउन्ज

प्रकाशित मिति:

नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभोक्ताको भिड लाग्ने गरेको छ । उनले अन्य देशका साथीहरुलाई आफ्नो देशको परिकार चखाएर त्यसको प्रवद्र्धन गर्न नेपाली र भारतीयहरुलाई अनुरोध गरेका छन् । अनुभवी र दक्ष कर्मचारीसहितको समूह बनाएर खोलिएकाले हरेक उपभोक्ताले सन्तुष्टि र खुशी व्यक्त गर्ने गरेको दाहालले बताए ।

रेष्टुरेन्टमा एकै पटकमा २०० जनालाई सेवा दिन सकिने उनले जानकारी दिए । झण्डै तीन करोड नेपाली रुपैयाँ बराबरको लगानीमा रेष्टुरेन्ट लाउन्ज खोलेका दाहाल यसअघि अरु धेरै व्यापार व्यवसायमा पनि संलग्न छन् । ताजमहल लाउञ्च्जको शाखा नेपालमा पनि खोल्ने योजना रहेको दाहालले जानकारी दिए । उनले नेपालमा यसअघि जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषिलगायतका क्षेत्रमा लगानी गरेका छन् ।उनी बेलायतका धेरै संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक सेवा गर्दै आएका छन् । उनी अहिले चितवन एड ट्रष्ट क्याटका बरिष्ठ उपाध्यक्ष छन् । उनले नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् भने बेला बेलामा अन्य सामाजिक सहयोग पनि गर्ने गरेका छन् ।

नेपालमै फर्केर सामाजिक तथा व्यावसायीक काम गर्ने रहर र प्रयास गरेका दाहालले नेपालको राज्य संयन्त्रका कारण आफू फेरि विदेशिनु परेको बताए । लोकतन्त्रमा विश्वास गर्ने र नेपालको राजनीतिक परिवारका सदस्य समेत रहेका दाहालले नेपालको सरकारी कार्यशैली र राजनीतिक अवस्थामा धेरै सुधार आवश्यक रहेकोमा जोड दिए ।