बुटवल पब्लिक स्कुलको ‘व्यागलेस स्कुलिङ’

प्रकाशित मिति:

बुटवल–बुटवल पब्लिक स्कुलले व्यागलेस स्कुलिङ अवधारणा कार्यान्वयनमा ल्याएको छ । स्कुलले शैक्षिक सत्र–२०७८ देखि यो अवधारणा अगाडि ल्याएको जनाएको हो । विद्यालयले नसर्री देखि कक्षा ६ सम्मका विद्यार्थीलाई स्मार्ट वोर्ड मार्फत बैज्ञानिक बिधीबाट अध्ययन अध्यापन गराउने अवधारणा अगाडि ल्याएको हो ।

विद्यालयका अनुसार नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीका पाठ्यपुस्तक कक्षा कोठका आ–आफ्ना लकरमा राख्ने र ४ देखि ६ सम्मका विद्यार्थीको पाठ्यपुस्तक घरमै राख्ने गरिएको हो ।

विद्यार्थीले प्रत्येक विषयको विषयवस्तु बुझिसकेपछि वर्कसिट मार्फत गृहकार्यमा पठाइने विद्यालयको भनाई छ । यसरी वर्कसिटमा गृहकार्य पठाउँदा विद्यार्थी स्वयम खोज र अनुसन्धानमा लाग्ने, विषयवस्तु र यसको ज्ञानमा आत्मनिर्भर हुने र किताबी ज्ञानमात्र नभएर विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने गरेको पाइएको विद्यालयका प्राचार्य हेमलाल शर्माले जानकारी दिए ।

उनले आगामी शैक्षिकसत्र देखि अन्य कक्षामा पनि सोही अवधारणा लागु गर्ने तयारी भइरहेको बताए । धेरै पुस्तक र ठूलो झोला बोकेर धेरै पढिन्छ भन्ने नेपाली समाजको सोंचलाई परिवर्तन गर्दै वैज्ञानिक बिधि अनुसार पठनपाठन गराईरहँदा अभिभावकहरु निकै खुसी रहेको पाइएको उनको भनाई छ ।