भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

प्रकाशित मिति:

सुदूरपश्चिम, साउन २४ सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एकरएक रहेका छन्। तीमध्ये भारतबाट फर्किएका ४२ मा सङ्क्रमण पुष्टि भएको हो। गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखापरेको थियो।

यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ। सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ।