बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो निभाईयो

प्रकाशित मिति:

काठमाडौं, साउन २५ : काठमाडौं बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो निभाइएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वर्ल्ड फुटवेयर’मा आज बुधबार बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी भएको थियो।जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको तर अग्निनियन्त्रकहरूले अझै पनि आगो बाँकी हुन सक्ने भन्दै हेरिरहेको जानकारी दिए।

उनले काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिइएको बताए। श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थिए। प्रवक्ता मैनालीका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० निजी पानी ट्यांकरको प्रयोग गरिएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।