काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।
छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
बालेनको सचिवालय अनुसार मेयर साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि बताएका थिए । ‘भेटमा मेयरले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।छलफलपछि प्रधामन्त्रीज्यूले सहयोग गर्न तयार रहेको जवाफ दिनुभएको छ, उहाँले सकरात्मक उर्जा सहित सबै खालको सहयोग गर्न तयार छु भन्नुभएको छ,’ बालेनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने ।सत्तारुढ दलका स्थानीय कार्यकर्ता नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै सडकमा आएपछि बालेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।