माओवादी केन्द्रसँग एकताका लागि गृहकार्य गर्ने एकीकृत समाजवादीको निर्णय

प्रकाशित मिति:

काठमाडौं, भदौ १ । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र एकता गर्न गृहकार्य गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवायलय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न एकता संयोजन समिति निर्माणबारे छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एकीकृत समाजवादीसँग एकताका लागि छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलबारे समझदारी गरेलगत्तै प्रचण्डले सञ्चारकर्मीमाझ त्यस्तो प्रतिक्रिया दिएका थिए।त्यसैगरी बैठकले गठबन्धनका बीचमा सिटको बाँडफाँटबारे छलफल चलिरहेको भन्दै सम्मानजनक सिटको बाँडफाँटका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको छ।बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र टिकट वितरणको निर्णय प्रक्रिया टुंगो लगायतको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए। बैठकले केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको उनले बताए। त्यस्तै सचिवालय बैठकले यही भदौ ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने निर्णय पनि गरेको छ। एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले भदौ ९ मा नयाँ पार्टी दर्ता गरेको थियो।