ओली सरकार बरालिएको गगनको आरोप

नेता थापाले आज (आइतबार) स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै यस्तो कुरा बताएका हुन् ।

प्रकाशित मिति:

स्याङ्जा, ८ पुस ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको आरोप लगाएकाछन्। नेता थापाले आज (आइतबार) स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै यस्तो कुरा बताएका हुन् । नेता थापाले भने “बलियो मान्छे चुलबुल हुन्छ मेसो पाउदैन त्यस्तै ईतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार पनि मेसो पाएको छैन ।

बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु जनहित अनुसार पूरा गर्नु पर्ने भन्दै थापाले कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको बताए । “बिपिले २०१५ सालमा हरेक सर्वसाधारणको सानो घर र स्वाथ्य सेवा पुगोस भन्नुभयो ” थापाले भने “तर २०७५ मा ओलीले चुच्छे रेल र पानी जहाजको सपना बाढ्नु भो, दुस्खका साथ भन्नुपर्छ विकासको यहि त्रुटिपूर्ण सोच अहिलेको सरकारसंग छ ।”

देशभर जघन्य अपराध बढेको बताउदै उनले सरकारका बारेमा अन्यले गरेका टिका टिप्पणी सुन्न नसक्ने अधिनायकवाद सरकार हो भने वर्तमान ओली सरकार नै भएको उनको भनाई थियो ।

नेता थापाले भने, सरकार बलियो भएका बेला जस्तो सुकै पनि कार्यहरु गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन, ईतिहासकै बलियो मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो, यो सरकार असंवेदनशील छ । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यहरुमा कुनै पनि अवरोध गरेको छैन।

सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सवकोआइतबार महोत्सबको समापन भएको छ ।