काठमाडौं । देशका विभिन्न भागमा आज शुक्रबार पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ । काठमाडौंको मौसम आज दिनभर बदली रहने मौसमविदले जानकारी दिएका छन् ।
आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वागमती प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
आज राति देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागमा आंशिक बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।वर्षाको सम्भावना रहेका प्रदेशका भू(भागहरूमा भू क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।












