पुष १०,जकार्ता : इन्डोनेशियामा शनिबार भएको ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ। सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा १२८ जना हराएको दर्ता गरिएको छ। शनिबार राति एकाबिहानै इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो। एक हजारभन्दा बढी घाइते भएको इन्डोनेशियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन्। हराइरहेका व्यक्तिको संख्या अझै यकिन हुन सकिरहेको छैन। सुनामीका कारण मृत्यु भएका तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन्।
समुद्री तट नजीकको बस्तीको वरपरका सयौँ घर भत्किएका छन्। ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन्। यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन्। भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको अनुमान गरेका छन्। प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिए। इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ। शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नाम दिएका छन्। यो वर्ष इन्डोनेशियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो। यसअघि जुन, अगस्त र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण २ हजार २ सय व्यक्तिको मृत्यु भएको थियो।












