बज्रे भञ्ज्याङ माविमा पढ्दै कमाउदै कार्यक्रम नमूना योग्य छ : नगर प्रमुख भट्टराई

प्रकाशित मिति:

टिकाराम अधिकारी – विद्यार्थीहरुलाई सैद्वान्तिक भन्दा पनि व्यवहारिक शिक्षा प्रदान गर्ने पक्षमा बालबालिकाको मनोभावनालाई बुझेर जीवन जीउनका लागि हामीले कर्म गर्न पर्छ बाच्नका लागि कृषि कर्म गर्नु पर्छ भन्ने कुरा सकरात्मक सोचका साथ कर्मका माध्यमबाट मात्रै सफल हुन सक्ने सन्देश बज्रे भञ्ज्याङ माविले दिएको प्रति नगर प्रमुख गुरु प्रसाद भट्टराईले धन्यवाद दिनु भयो ।विहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.११ बज्रे स्थित बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम एक शैक्षिक संस्था एक उद्दम कार्यक्रमको प्रगति बिवरण सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो हामीले कर्म गर्नु पर्छ जीवन जीउनका लागि र आफू आफ्नो परिवारलाई माथी उठाउने अभियानमा जीवन कर्म हो भन्ने अभियानका साथ विद्यालयले कर्म गर्न सिकाएको बताउदै हामी उपभोगमा रमाउदै उत्पादनमा ओझेल पर्दै उत्पादनसंग हामीले समाजलाई जोड्नु पर्ने तथा विदेशी बस्तुमा विलासी बन्दै गएको प्रति चिन्ता गर्दै त्यसता कार्यको अन्त्य गरि बज्रे भञ्ज्याङ माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पढ्दै कमाउदै कार्यक्रमले विद्यार्थीहरु भोलिका दिनमा परनिर्भर नभएर आत्मनिर्भर बन्ने कुरामा जोड दिदै सहि र सक्षक कर्म गरेर अगाडि वढ्नु पर्ने कुरामा जोड दिनु भो ।

उहाँले उत्पादनमा रमाउनु पर्ने हामी उपभोगमा रमाईरहनु राम्रो पक्ष नभएको र गल्याङ नगरपालिका वडा नं.११ को तल्लो भूभागमा राम्रो कृषिको सम्भाभ्यता भएको र भौगोलिक विकटताका वाजुत पनि माथीलो भूभागमा समेत राम्रो कृषि कर्म गर्नु उत्तम कार्य भएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले १४० विद्यालय मध्य बज्रे भञ्ज्याङ माविले पनि आफूलाई पढ्दै कमाउदै कार्यक्रम पार्न र सफल रुपमा सञ्चालन गरेको प्रति धन्यवाद दिदै उत्पादित बस्तुको बजारीकरण गर्ने पक्षमा गल्याङ नगरपालिका लागि पर्ने कुरा बताउनु भयो ।कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकाल, पशु सेवा शाखा प्रमुख शुशिल अर्याल,गल्याङ नगरपालिका वडा नं.११ का वडासदस्य मोहन प्रसाद डुम्रे, कृषि सहजकर्ता लाल प्रसाद पंगेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कक्षा ६ देखि कक्षा १० सम्म ६७ जना विद्यार्थीहरुको सहभागितामा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन भएको र यस कार्यले विद्यार्थीहरुमा हौसला थपिएको विद्यालयका प्रअ नेत्र प्रसाद ग्रैह्रेले बताउनु भयो ।उहाँले भन्नु भयो विद्यार्थीहरुले १० वटा टनेल निर्माण गरेर बन्दा,काउली, टमटर,प्याज,धनिया लगायतका तरकारी उत्पादन गर्नु भएको र उत्पादित बस्तुहरु दिवा खाजा तथा अभिभावक र बजार सम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हात पार्ने गरेको कुरा प्रअ गैह्रेले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रअ भोजराज भण्डारीले र कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रेशम बहादुर रानाले गर्नु भएको थियो ।