काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचारहरु बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले कुनै उम्मेद्वार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिङ्गो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताउनुभयो ।चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठुलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ, सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भन्नुभयो, चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति दैशपूर्ण अभिव्यक्तिलाई सञ्चार माध्यममा कुनै हालतमा स्थान दिनुहुँदैन । त्यसबारे प्रेस काउन्सिल नेपालले नियमित अनुगमन गरिरहेको छ ।
बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।अभिमुखिकरणको १५ औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रुपमा अभिमुखिकरण गराउनुभएको थियो ।सूचना तथा प्रशारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले काउन्सिलले सुरूवात गरेको आचारसंहिता अभिमूखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिनुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी दिनुभयो । काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उहाँले विश्लेषण गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजीकरण गर्नुभएको थियो भने भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।












