बुटवल कात्तिक । रुपन्देही क्षेत्र नं. १ बाट गठबन्धन दलको समेत समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग छलफल तथा भेटघाटलाई तिब्र पारेका छन् । त्रिभुुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले यस क्षेत्रका ३३ वटै वडामा सम्पर्क कार्यालयहरु स्थापना गर्ने काम शनिबारदेखि थालेका छन् ।प्रतिनिधि सभातर्फ भुसाल र प्रदेशसभा (क) मा विश्वनाथ यादव तथा (ख) मा अब्दुल रज्जाक उम्मेदवार छन् । यी उम्मेदवारलाई जिताउन गठबन्धनका दलले शनिबार पहिलो सम्पर्क कार्यालय रोहिणी गाउँपालिकाको वडा नं. ७ मा खोलेका छन् ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै एमाले परित्याग गरेर उम्मेद्वार बनेका नेता घनश्याम भुसालले मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । नेपालमा विश्वकै उत्कृट संविधान बनेर देश समृद्धिको यात्रामा लागेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबरोध सृजना गरेको उनले बताए । ओलीले संसद र संविधानलाई प्रहार गरेर राजनीतिक अस्थिरता उत्पन्न गराएको उनको भनाई थियो । झण्डै दुईतिहाइ जनमतको उपक्षा गरेर ओलीले संसद विघटन गरेर जनमत आफूले दाइजो पाएजस्तो गरेको उनको टिप्पणी थियो । ओलीले एमाले पार्टीलाई समेत निजी कम्पनी जस्तो बनाएर हुकुमी शासन चलाउदा राजनीतिक अस्थिरता सृजना भएको र पार्टीमा समेत बिभाजन आएको चर्चा गरे । राणाहरुले जस्तै हुुकुमी शासन चालउन खोज्दा सत्ताच्युत समेत हुनुपरेको ओलीले विर्सन नहुने उनको भनाई छ ।
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार द्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि सम्बोधन गरेका थिए । जनता र देशको समग्र विकासको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन उनीहरुले आग्रह गरे ।गठबन्धनका दलले शनिबारै रोहिणीको वडा नंं १, २ र ३, देवदहको ११ र १२ तथा ओमसतियाको ४ मा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् । यी कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिए । केसीका अनुसार कात्तिक १६ गतेसम्म क्षेत्र नं. १ का ३३ वटै वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरिने छ ।












