वाक स्वतन्त्रता रक्षाको लागि सञ्चारको भूमिका महत्वपूर्ण

प्रकाशित मिति:

बुटवल,११ मंसिर । बुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । आईतबार संस्थाको प्रधान कार्यालय बुटवल ६ बुद्धपथमा एक कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै दैनिक पत्र राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक डा.बालकृष्ण चापागाईंले संस्था निर्माणमा हरेक क्षेत्रबाट सहयोग र योगदान दिने सबैलाई हार्दिक आभार व्यक्त गरेका छन् । उनले यो संस्था विभिन्न अवस्थाबाट गुज्रिएर यहाँसम्म आएको बताउदै चुनौतीलाई दैनिक सामना गर्दै तीनवटा पत्रिका नियमित प्रकाशित भईरहेको बताए ।

डा. चापागाईंले मानव सभ्यताको विकास सञ्चारले गर्दै आएको बताउँदै सभ्यता विस्तारको काम पनि सञ्चारले नै गरिरहेको बताए । उनले दैनिक पत्रले प्रविधिको भरपुर प्रयोग गर्दै दैनिकपत्र डटकम अनलाइन चलाएको बताउँदै दैनिक रुपमा ई–पेपर र प्रकाशित सामाग्रीहरुलाई विश्वभर हेर्न सकिने बताए ।कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले दैनिक पत्र दैनिकले नागरिकको वाक स्वतन्त्रताको अधिकारको लागि र लोकतन्त्रलाई बलियो बनाउदै नागरिकका अधिकारको क्षेत्रमा काम गरेकोमा धन्यवाद व्यक्त गरे । खनालले कुनै न कुनै माध्यममार्फत यसमा जोडिन पाउँदा गर्व महसुस हुने गरेको बताउँदै यही क्रियाशीलतालाई निरन्तरता दिन आग्रह गरें ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले पर्यटनले भरिपूर्ण देश नेपालको व्यवस्थापन नेपालीले गर्न नसकेको गुनासो गरें । विदेशी मुलुकले पर्यटन क्षेत्रमा निकै ध्यान दिने भएपनी नेपालमा त्यति ध्यान नदिइएको बताउँदै यसतर्फ समयमा नै सचेत हुन आग्रह गर्दै मिडियालाई पर्यटन प्रवद्र्धन गर्ने कार्यमा लाग्नु पर्ने बताए ।कार्यक्रममा बोल्दै लेखक एवं विश्लेषक माधव कुमार पौडेलले प्रविधिको भरपूर प्रयोग गर्दै यसको निरन्तरताको लागि सुझाव दिएका थिए । उनले विचार प्रधान हुँदै सिर्जनात्मक कार्यहरु थप्न आग्रह गरें ।आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले दैनिकपत्रको पहिचानलाई निरन्तरता दिदै निश्पक्षता कायम गरोस भन्दै शुभकामना दिएका थिए ।
लेखक हरि ज्ञवालीले दैनिक पत्र दैनिक र जनसंघर्षले आफ्नो निरन्तरताको प्रशंसा गरें । उनले दैनिकपत्रले हरेक सवालमा आफ्ना विचार प्रस्तुत गर्दै सबै विषय वस्तुलाई समेटी पाठकहरुको मन जित्न सफल भएको बताए ।

संस्थाका सल्लाहकार सम्पादक ऋषि आजादले पर्यटन क्षेत्र अबको विकासको आधार भएको बताउँदै यो वर्ष दैनिकपत्रले पर्यटन सम्बन्धि खुराकलाई बढी पस्किने बताए ।ग्रामिण पर्यटन सम्बन्धि जानकार दलबहादुर गुरुङले पर्यटनले ग्रामीण एवं पछाडि परेको समुदायलाइ माथि ल्याउन सक्ने भएकोले यो पटक दैनिकपत्रले पर्यटन विषयलाई बिशेषाङ्कको रुपमा प्रकाशन गरेकोमा धन्यवाद व्यक्त गरें ।
कार्यक्रममा बोल्दै कार्यकारी सम्पादक सुमन अधिकारीले दैनिक पत्र दैनिकको पछिल्लो अवस्था र वार्षिकोत्सवका विषयवस्तुको बारेमा बताएका थिए । दैनिक पत्रका राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संवाददाता पूजा पन्थी तथा जनसंघर्ष साप्ताहिकका प्रवन्ध सम्पादक रामप्रसाद आचार्यको सञ्चालनमा भएको थियो ।