बुटवल । बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ ।
आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण दिइएको हो ।
उहाँहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका ११ जनालाई पेशालाई निरन्तरता दिदै स्वरोजगार बन्न मदत गरेको बताउनुभयो ।उहाँले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताउनुभयो । उपप्रमुख सावित्रादेवी अर्यालले लोप हुन लागेको पेशालाई आधुनिक उपकरणमार्फत स्वरोजगार बन्ने प्रेरित गर्ने गरी उपकरण सहायता गरेको बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका आन्तरिक श्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकाहरुलाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरेको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताउनुभयो ।












