बुटवल, चैत । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुधबार धार्मिक संघसंस्थाका व्यक्तिहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी धार्मिक संघसंस्थाका व्यक्तिहरुले धार्मिक सद्भाव कायम राख्नका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले धार्मिक संघसंस्थाका अगुवाहरुसँग बुधबार गरेको छलफलमा सहभागी वक्ताहरुले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् । उनीहरुले धार्मिक हिसाबले सद्भावपूणर् शहरका रुपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक स्थल बनाउने गरी तयार हुन संघसंस्थाका अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।उहाँले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा शहर भएकाले धार्मिक विश्रामस्थलका रुपमा विकास गर्नका लागि धार्मिक संघसंस्थाहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक संघसंस्थाहरुलाई साथ दिन र सँग लिएर अगाडि बढ्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले धार्मिक स्थलहरुलाई पर्यटकीय स्थलका रुपमा स्थापित गराउनुपर्ने बताउनुभयो । उहाँले बुटवलभित्रका धार्मिक संघसंस्थाहरुले धार्मिक एकता र सद्भाव कायम राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए ।बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।जसअनुसार चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने उहाँले बताउनुभयो ।
यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।


			







 				