अर्थमन्त्री महत र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता- संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिन अनुरोध
बुटवल-अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो ।उहाँले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन र आवश्यक बजेटको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो ।
भेटका क्रममा उहाँले बुटवलबाट प्रदेशको राजधानी दाङ गएपछि बुटवलका बासिन्दा निराशा र असन्तुष्टि रहेकाले बुटवलबासीमा उर्जा थपिनेगरी बजेटमार्फत सम्बोधन गर्न अनुरोध गर्नुभयो । उहाँले संघ सरकारले निर्माण गरेका आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न र स्थानीय सरकारको समेत अपनत्व हुने गरी कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो । राजस्व संकलनदेखि कानून निर्माण र कार्यान्वयनमा संघीयताको मर्मअनुसार कतिपय काम हुन नसकेको बताउँदै नगरप्रमुख पाण्डेयले वित्तिय संघीयता र स्थानीय सरकार आत्मनिर्भर हुने गरी राजस्व बाँडफाँडमा चासो दिन पनि अनुरोध गर्नुभयो ।
उहाँले आर्थिक रुपमा सबैतिर निराशा छाइरहेको अवस्थामा संघीय सरकारले उपयुक्त नीति ल्याउँदै जनतामा आशा जगाउनुपर्ने र सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने राय व्यक्त गर्नुभयो ।भेटका क्रममा अर्थमन्त्री महतले सरकारले छिटै नै नीतिमा सुधार गर्दै जनतामा छाएको निराशा हटाउने गरी काम गरिरहेको बताउनुभएको थियो । उहाँले बुटवलको विकासका लागि आफु सधै सकारात्मक रहेको र बुटवलको चित्त बुझ्ने गरी काम हुनेमा विश्वास दिलाउनुभयो ।












