बुटवल, बैशाख । लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको ८ औं वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन शनिबार बुटवलमा सम्पन्न भएको छ ।संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सह–कोषाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष प्रताप परियारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।प्रमुख अतिथि परियारले बोल्दै व्यवसायीको हकहितका लागि संस्थाले विभिन्न किसिमका सिलाई तालीमहरु प्रदान गर्दै आएको बताए । उनले व्यवसायिक एकताले मात्रै संस्थाको विकासमा टेवा पुग्ने भएकाले सबै सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यस्तैगरी नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवानले बोल्दै व्यवसायीको हक अधिकार र संरक्षणका लागि टेलरिङ्ग व्यवसायी खोल्नु परेको बताए । उनले सिलाई व्यवसायी सीपको धनी भएतापनि राज्यले व्यवसायीको हितमा काम नगरेको गुनासो गरे ।कार्यक्रममा नवलपरासी टेलरिङ्ग व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लाल बहादुर साहनी, संस्थाका सल्लाहकार गोपाल परियार, सदस्यहरु राम बहादुर परियार, शिव परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा संघले व्यवसायी सदस्यहरुका लागि सिलाईको ज्याला दररेट सूची समेत सार्वजनिक गरेको छ ।कार्यक्रममा संस्थाको उन्नती तथा प्रगतिमा अहोरात्र खट्ने संस्थाका वरिष्ठ उपाध्यक्ष रविन रायमाझी, सचिव देवेन्द्र परियार, कोषाध्यक्ष भिमलाल पाण्डे, सहसचिव जगदीश सुनाम, सस्यहरु राजु छिनाल र सन्दीप परियारलाई प्रशंसा पत्रले सम्मान गरेको छ । सोही अवसरमा संघमा आवद्ध ३० जना नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष कमल छिनालले बोल्दै व्यवसायीको हितका लागि ५ लाखको जीवन बिमा गर्दै आएकोमा यसलाई वृद्धि गर्दै ७ लाख सम्म लैजाने बताए । उनले संस्थामा तदारुकताका साथ चासो दिएर सबै सदस्यहरु एकसाथ हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा संघका कोषाध्यक्ष भिमलाल पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।संस्थाका वरिष्ठ उपाध्यक्ष रविन रायमाझीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य राजु छिनालले गरेका थिए । विं सं. २०७२ सालमा विधिवतरुपमा दर्ता भई ३० जना व्यवसायी सदस्यहरुबाट अघि बढेको संस्था ८ औं वार्षिक साधारणसभामा आईपुग्दा १ सय १५ जना सदस्यहरु संस्थामा आवद्ध रहेका छन् ।












