पद्मचैत्य विहार बुटवलमा २५६७ औं बुद्धजयन्तीको शुभारम्भ तथा सम्मान कार्यक्रम
बुटवल । २५६७ औं बुद्धजयन्तीको शुभारम्भका अवसरमा सोमबार पद्मचैत्य विहार बुटवलमा परिवर्तित सन्दर्भमा बुद्ध धर्मदर्शनको सान्दर्भिकता विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सागरधम्म स्थवीरले बुद्धका विचारलाई मानवजातीले बुझ्न र व्यवहारमा उतार्न सकेमा समाजमा शान्ति स्थापना हुने बताए । बुद्धले इमान्दारिता, सदाचार र नैतिकता सम्बन्धी महत्वपूर्ण विचार दर्शन दिएका भन्दै सुशासनका लागि पनि बुद्धका विचार अनुकरणीय रहेको बताए ।
सो अवसरमा ‘बौद्धदर्शन र सञ्चार’ क्षेत्रमा विशेष योगदान दिएको भनी वरिष्ठ पत्रकार तथा अधिवक्ता डा . बालकृष्ण चापागाईं र साहित्यिक क्षेत्रमा योगदान दिएको भन्दै विजयगोविन्द श्रेष्ठ ( विजयसागर) लाई सम्मान गरिएको छ ।कार्यक्रममा सम्मानित व्यक्तित्व डा. चापागाईले बौद्ध धर्मदर्शनका बारेमा आफ्ना भनाई राख्दै विश्वमा पछिल्लो समयमा बुद्धका विचारको महत्व झनै बढ्दै गएको बताए । उनले बौद्ध धर्मदर्शन विश्वकल्याणका लागि वैज्ञानिक दृष्टिकोणमा आधारित रहेको बताए ।कार्यक्रममा प्रोफेसर आनन्दमान सिंह शाक्यले बुद्धका विचारमा मैत्री, करुणा, शान्ति र सद्भाव आदर्शका रुपमा रहेको बताए ।साहित्यकार विजयगोविन्द श्रेष्ठले नेपालमा जन्मेका बुद्धका विचारलाई विश्वसामु चिनाउन अझै प्रयास गर्नुपर्नेमा जोड दिए ।विहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यले सभाध्यक्षको हैसियतबाट बोल्दै पद्म चैत्य विहारले गर्दै आएका रचनात्मक कार्य र २५६७ औं बुद्धजयन्तीका अवसरमा बैशाख २२ गतेसम्म ५ दिवसीय कार्यक्रमबारे जानकारी गराएका थिए ।कार्यक्रममा विहारका मानार्थ सदस्य तथा सल्लाहकार जीवनप्रसाद वझा, सल्लाहकार बाबुकाजी शाक्य, विहारका भिक्ष धम्मानुशासक, कविन्दो स्थवीर, महेन्द्र भन्ते,, सङ्घातिश्स भन्ते, शान्ति गुरुमालगायतको सहभागिता रहेको थियो । अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष पदमलाल शाक्यको धन्यवाद ज्ञापनमा कार्यक्रमको सञ्चालन सचिव ऋद्धिमान शाक्यले गरेका थिए ।












