जंगली पशुपन्छीको मासु खुलेआम बेचबिखन

प्रकाशित मिति:

पुष १३ बजाङ । ग्रामीण बस्तीमा अवैध जंगली पशुपन्छीको मासु बिक्री हुने गरेको पाइएको छ। खुलेआम रूपमा जंगली पशुपन्छीको मासु अवैध रूपमा बिक्री–वितरण भइरहँदा पनि स्थानीय वन प्रशासन मूकदर्शक बनिरहेको छ।सिकारीले लेकतिर हिमापत भएसँगै चिसो छल्न औलतिर झरेका डाँफे, मुनाल, कालिजजस्ता चरा तथा झारल, घोरल, मृग, थार, बुगुरु, बाघ, भालुजस्ता जनावरको गोली प्रहार गरेर तथा पासो थापेर मार्ने र तिनको मासु चैनपुरलगायत गाउँगाउँमा लगी खुला रूपमा बिक्री–वितरण गर्दा पनि वन प्रशासन कारबाहीमा उत्रिनुको सट्टा निरीह बनेको जनाइएको छ। भए हाताहाती नभए उधारोमा सिकारीले कालिज, डाँफे, झालर, घोरललगायतको मासु घरघरमै पुर्‍याउने गरेको जय पृथ्वी नगरपालिका–११ सुइलका कल्लाने बोहराले बताए। ‘प्रहरी प्रशासन र वन कार्यालयका कर्मचारी गाउँमा कहिल्यै आउँदैनन्, दिनदाहाडै जंगलमा बन्दुक पड्केको आवाज सुनिने गरेको छ,’ उनले भने, ‘हिजोआज गाउँमा जंगली पशुपन्छीको मासु रोजेर खान पाइन्छ।’ पैसा नभए पनि पछि यार्सागुम्बा दिने सर्तमा मासु दिने गरेको उनले सुनाए। पैसा नभए पनि पछि यार्सागुम्बा दिने सर्तमा मासु दिने गरेको जय पृथ्वी नगरपालिका–११ सुइलका कल्लाने बोहराले बताए
अहिले सबैभन्दा बढी खोजी डाँफेको मासुको हुने गरेको तलकोट गाउँपालिका ८३ करे जोशीले बताए। उनका अनुसार उहिले राष्ट्रिय पन्छी भएकाले डाँफे मार्दा गाई मारेसरह पाप लाग्ने र मान्छे मारेसरह सजाय हुने भन्ने गरिन्थ्यो। ‘पहिले हिमपात भएपछि गाउँले मिलेर सामूहिक सिकार गर्ने चलन थियो, अहिले हरायो,’ उनले भने, ‘अहिले लेकमा सिकारीले बन्दुक हानेर र पासा थापेर जंगली पशुपन्छी सिध्याइसके।’ सिकारीलाई प्रहरी प्रशासनको डर नै नभएको उनको बुझाइ छ। लेकतिर सिकारीले बाघभालुका छाला घाममा सुकाएर राख्ने गरेको पनि उनले सुनाए। ‘अहिले सिकारीको एकलौटी राज छ,’ उनले भने।

जय पृथ्वी नगरपालिकाका सुइल मयान, बारी, सुरकेमेला, पुगर, तितानि,कैलाश, सुतियाँ फलटानालगायत मस्टा, तलकोट, सुर्मा, साइपाल, छब्बीस पाथीभेराका लेकमा मारिएका जंगली पशुपन्छीको मासु कहिले जिपमा राखेर कहिले सिकारी स्वयंको झोलामा हालेर सदरमुकाम चैनपुरमा खुला रूपमा ल्याउने गरिएको स्थानीयवासी बताउँछन्। उनीहरूका अनुसार व्यापारीले गाउँघरमा प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्ने थार, घोरलको मासु बजारमा आठ सयदेखि एक हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ।

डाँफे तीन हजारदेखि चार हजार र कालिज एक हजारदेखि १६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ। झाल र कस्तूरीको मासु प्रतिकेजी १५ सयदेखि दुई हजार रुपैयाँमा बिक्री हुने गरेको जनाइएको छ। जंगली पशुपन्छी मार्नेलाई कारबाही गर्नुपर्ने स्थानीय प्रशासन तथा वन कर्मचारीले उल्टै गोप्य रूपमा त्यस्ता पशुपन्छीको मासु किनेर खाने गरेको बिचौलियाका रूपमा काम गर्नेहरूको भनाइ छ। ‘कानुनको पालना गर्न सिकाउने कर्मचारीले नै मासु खोजीखोजी खान थालेपछि हामीलाई झन् सजिलो भएको छ,’ बिचौलिया भई काम गर्ने एक व्यापारीले भने। भौगोलिक विकटताका कारण चाहेर पनि जनशक्ति परिचालन गर्न नसकिएको वन अधिकृत कृष्णराज न्यौपानेले बताए।

आफू कार्यालयमा हाजिर भएको डेढ महिना मात्र पुगेको उल्लेख गर्दै उनले जनशक्तिको अभावले गर्दा केही गर्न नसकिएको बताए। ‘बजारमा जंगली जनावर र पन्छीको मासु आउन थालेको हल्ला सुनेको छु। त्यसलाई रोक्न र अपराधीलाई पक्राउ गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रशासन कार्यालयको संयुक्त बैठक बसेर सदरमुकाम भित्रने शंका लागेका व्यक्ति तथा जिप, मोटरसाइकल र ठूला सवारीसाधन चेकजाँच गरिने भएको छ,’ वन अधिकृत न्यौपानेले भने, ‘विशेष गरी गोप्य सूचना दिने सुराकी नभएर पनि कानुनविपरीत काम भएको देखिएको छ। यसलाई रोक्न सबै पक्षको सहयोग चाहिन्छ। वन कार्यालयले मात्र केही गर्न सक्दैन।’