भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास माघमा : मेयर दाहाल

प्रकाशित मिति:

१३ पुस, चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनको समन्वयमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माघमा शिलान्यास हुने भरतपुरकी मेयर रेनु दाहालले बताएकी छन् । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जग्गामा रंगशाला निर्माण हुने भएको हो । महानगरपालिकाले भोगाधिकारसहित रंगशालाका लागि जग्गा प्राप्त गरिसकेको मेयर दाहालले जानकारी दिइन् ।‘स्थानीय विकास मन्त्रालयबाट स्वीकृती आइसक्यो, अब शिक्षा मन्त्रालयको स्वीकृती पर्खिएर बसेका छौं,’ उनले भनिन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको तालुकदार मन्त्रालय शिक्षा मन्त्रालय भएकोले उसको स्वीकृती आवश्यक रहेको छ । रंगशालाको प्राविधिक पक्ष शहरी विकास तथा भवन निर्माण कार्यालयले हेरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६ मा रहेको जग्गाको भोगाधिकारका लागि भरतपुर महानगरपालिका, कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका वीचमा त्रिपक्षिय सम्झौता भएको थियो । त्यसमा त्रिविले सवै सहयोग गर्ने अर्को प्रतिवद्धतापत्र पनि महानगरलाई दिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको सिनेट सदस्य समेत रहेकी मेयर दाहालले विश्वविद्यालयको काठमाडौंमा भएको सिनेट बैंठकबाट जग्गा दिने निर्णय गराउन बल गरेकी थिइन् तर जग्गाको स्वामित्व त्रिविको भएको हुँदा समस्या भएको थियो । मेयर दाहालले भनिन्– ‘चितवन रगंशाला बन्ने या नबन्ने भन्ने विषय अब सकियो, रगंशाला निर्माणको प्राविधिक कार्यहरु भईरहेका छन् ।’

रगंशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनसँग आवश्यक सहकार्य भैरहेको उनले बताइन् । ‘केही हप्ताअघि पनि सितारामजीसँग छलफल भएको छ, अब उहाँ पनि आशावादी बन्नुभएको छ, हामी पनि उत्साहित छौं,’ मेयर दाहालले भनिन्, ‘अब जग्गाका लागि क्याविनेट जानुपदैन, एमओयू पनि कानुन नै हो ।’ रंगशाला निर्माण भएपछि फाउन्डेसनले महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने मौखिक सहमति भए पनि लिखित सहमति हुन बाँकी छ । लिखित सहमतिको प्रस्ताव पठाउन फाउन्डेसनलाई भनिएको मेयर दाहालले बताइन् । रंगशाला निर्माणमा महानगरपालिकाको पनि साझेदारी रहने तर आर्थिक योगदान कति रहने भन्ने बारेमा निर्णय हुन बाँकी रहेको उनको भनाई छ ।

छिट्टै घोषणा गछौं : धुर्मुस
धुर्मुस–सुन्तली फाउन्डेशनका प्रमुख सिताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणको काम चाँडै घोषणा गरेर अघि बढ्ने बताएका छन् । क्रिकेट रंगशालाको डीपीआर तयार भइरहेको उनले जानकारी दिए ।‘सुरुमै धेरै हल्ला गर्दा काम बिग्रने भएकोले एकैपटक घोषणा गरेर काम थाल्ने सोच बनाएका छौं,’ उनले भने । धुर्मुसले रगंशालाका प्राविधिक कामहरुको प्रक्रिया अघि बढाईसकिएको जानकारी दिँदै छिट्टै चितवनबाटै घोषणा गरिने बताए ।‘रंगशाला बन्ने निश्चित भएको छ, अहिले सबै कुरा नभनौं, छिट्टै औपचारिक घोषणा गर्दैछौं,’ उनले भने । उनले भरतपुर महानगरपालिकाकी मेयरको निरन्तरको प्रयासमा काम सहज तरिकाले अघि बढेको प्रतिक्रिया दिए ।अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने मैदान भरतपुरको चौंविसकोठीबाट करीव ८ किलोमिटर पश्चिममा रहेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको भेटनरी संकायको पश्चिमतर्फ खाली रहेको जमिन हो यो । यसलाई रंगशालाको स्वरुपमा बदल्न भने धेरैं नै मेहनतका साथसाथैं खर्च पनि गर्नुपर्ने देखिन्छ । ‘लो ल्यान्ड’ भएका कारण बढी पुर्नुपर्ने आवश्यकता अहिले फिल्डमा गएर हेर्दा देखिन्छ । जग्गा समतल छैन । कृषि तथा वनविज्ञान विश्वविद्यालयको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको यो मैदानको बाहिर पातलो मानव बस्ती छ । फाउन्डेसनले यसअघि ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्ताव पठाएपछि प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गरेको थियो ।