तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन यही असोज ३० र कार्तिक १ गते हुने

प्रकाशित मिति:

काठमाडौं । गैर आवासीय नेपाली संघको तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात २०२३ अक्टोबर १७ र १८ तारिखमा आयोजना गरिने भएको छ । ज्ञान सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुनेछ । भर्चुअल माध्यमबाट आज आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक सह प्राध्यापक राजु अधिकारीले जानकारी दिनुभयो । लागि आवश्यक सबै तयारी पुरा हुने क्रममा रहेको जानकारी दिनुभयो ।

सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिनेछ।

सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरूलाई समेत सम्बोधन गर्ने अपेक्षा राखेका छौँ । सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिनेछ । सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिनेछ ।सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आवहान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिनेछ । सम्मेलनको अन्य जानकारी वेभसाइट (www.knowledge.nrna.org) बाट प्राप्त गर्न सकिने छ ।