साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र नेपथ्य कलेजको विजयी सुरुवात

प्रकाशित मिति:

भैरहवा, फागुन ८ । भैरहवा दोस्रो संस्करणको जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । तल्लो तहबाटै क्रिकेट खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएका दुई खेलमा न्यु होराइजन ‘बी’ र नेपथ्य कलेज विजयी भएका छन् । पहिलो खेलमा न्यु होराइजनले मुनलाइट इङ्गलिस बोर्डिङ हाई स्कूललाई २३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । यस्तै अर्को खेलमा नेपथ्यले सीसीटी कलेजमाथि ४७ रनको जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित खेलमा ८ विकेट गुमाउँदै १ सय ४० रनको योगफल बनायो । उसका लागि प्रकाश गिरीले ४६, आरिफ खान र रञ्जित मौर्यले समान २३–२३ तथा सिद्धार्थ ढकालले १७ र सूर्यांन्स शर्माले १३ रन बनाए । बलिङमा मुनलाइटका जैनउद्दिन अन्सारीले ४, भानुभक्त पाण्डेयले २ तथा अनिष यादव र सुरज खड्काले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको मुनलाइट ७ विकेटको नोक्सानीमा १ सय १७ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि अनिष यादवले सर्वाधिक २८ रन जोड्दा सुरज खड्काले अविजित २६ रन बनाए भने शिवकान्त यादवले १३ रन बटुले । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा न्यु होराइजन ‘बी’का सुभम पाण्डेयले ३, आरिफ खान, प्रकाश गिरी, भोजराज सापकोटा र सिद्धार्थ ढकालले समान १–१ विकेट लिए । खेलमा न्यु होराइजनका प्रकाश गिरी म्यान अफ द म्याच भए । मंगलबार नै भएको अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य कलेजले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १ सय ३६ रनको योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ४३, अमृत बकबलले ३३ र विमर्श थापाले ११ रनको योगदान दिए । बलिङमा सीसीटीका अमित तिवारी र अभिषेक पाण्डेयले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सीसीटी १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रनमै समेटियो । उसका लागि अमन बोहराले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । अमनले बाहेक सीसीटीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न नेपथ्यका कृष्ण भुसालले ४, तिलक भुसालले ३, स्वस्तिक पाण्डेले २ तथा कृष्ण कार्कीले १ विकेट लिए । खेलमा नेपथ्यका कृष्ण भुसाल म्यान अफ द म्याच भए । प्रतियोगितामा विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् । यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले यस्ता प्रतियोगिताले जिल्लामा नयाँनयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।