गणित शिक्षकलाई प्याब्सन रुपन्देहीको अभिमुखिकरण

प्रकाशित मिति:

तिलोत्तमा,९ फागुन ।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले गणित शिक्षकहरुलाई अभिमुखिकरण तालिम दिएको छ । गणित विषय पढाउने शिक्षकको क्षमता र सीप विकास गराई विद्यार्थीको नतिजा राम्रो बनाउने उद्देश्यले प्याब्सन रुपन्देहीको कार्यालय मंगलापुरमा तालिम दिइएको हो ।

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले गणित विषयमा विद्यार्थीहरु कमजोर हुने समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको बताए । नयां पाठ्यक्रम र नयां प्रश्नपत्रको मोडेल र नयां प्रविधिबारे शिक्षकलाई जानकारी गराए मात्र शिक्षकले विद्यार्थीलाई सिकाउन सक्ने भएकाले तालिम आयोजना गरिएको बताए ।
नयां विकसित सूचना प्रविधिको प्रयोग अनि खेल्दै सिक्दै विधिबाट विद्यार्थीलाई सिकाउनुपर्ने अध्यक्ष शर्माले बताए । स्मार्ट मोबाइल फोन,युट्युब,टेलिभिजनमार्फत पनि म्याथ सिक्न र सिकाउन सकिने भएकाले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्नेमा उनले जोड दिए ।

अभिमुखिकरणमा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत गणित विषय विज्ञ नवराज पाठकले पाठ्यपुस्तकको ज्ञानले मात्र विद्यार्थीलाई नपुग्ने भएकाले प्रोजेक्टमा आधारित र प्रयोगात्मक सिकाईमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने बताए । उनले शिक्षकहरु प्रविधिमैत्री र प्रविधि जानेको हुनुपर्नेमा जोड दिंदै शिक्षक सक्षम र दक्ष भए मात्रै विद्यार्थीको नतिजा राम्रो आउने बताए ।

तालिममा सहभागी गणित शिक्षक कमलापति अर्यालले प्याब्सन रुपन्देहीले दिएको तालिमले शिक्षकको क्षमता र सीप विकास हुन गई शिक्षण सिकाईमा सुधार आउने बताए । उनले सरकारी तहबाट पनि यस्ता तालिम सञ्चालन हुनुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटनका अवसरमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरी,प्याब्सन केन्द्रीय सदस्य खेमेन्द्र राना,अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली,एलाइड पब्लिकेसन्सका सञ्चालक रामकृष्ण चापागाई लगायतले शिक्षकलाई समयसापेक्ष तालिम र अभिमुखिकरण आवश्यक हुने बताएका थिए ।

तालिममा प्याब्सन रुपन्देहीमा आवद्ध कक्षा १० सम्मको पढाई हुने सदस्य विद्यालयका करिब सय जना गणित शिक्षकहरुको सहभागिता रहेको प्याब्सन रुपन्देहीका सचिव दीपक खनालले बताए ।