महाशिवरात्रीका दिन लुम्बिनी केबलकार ७ बजे नै चल्ने

प्रकाशित मिति:

बुटवल । महाशिवरात्री पर्वका अवसरमा फागुन २५ गते शुक्रबार लुम्बिनी केबलकार बिहान ७ बजे नै सञ्चालन हुने भएको छ । अन्य दिन केबलकार ९ बजेदेखि सञ्चालन हुंदै आएको थियो । महाशिवरात्रीका अवसरमा केबलकारको टप स्टेशन बसन्तपुरमा रहेको कामाख्या देवी मन्दिर दर्शन र मन्दिर परिसरमै रहेको शिवलिंगमा जलार्पणका लागि बिहान ७ बजे नै केबलकार सञ्चालन गर्ने तयारी गरिएको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । महाशिवरात्रीका लागि टप स्टेशनमा ध्वजा पताकाले सजावट गरिएको छ । यस्तै केबलकारले शिवरात्रीका दिन सिद्धबाबा मन्दिर दर्शन गर्न आएका भक्तजनलाई केबलकारले उपलब्ध गराएको टोकन लिएर आएमा टिकटमा १० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।
केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर, सय वर्षअघि देखि पुजा हुंदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बी पर्यटकका लागि विशिष्ट आकर्षण बनेको छ । कामाख्या मन्दिर दर्शन गर्न र केबलकार चढ्न लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेशका विभिन्न शहरबाट उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।