प्रदेश सांसद्को प्रश्न – पत्रकारलाई पुरस्कारवापतको रकम किन दिइएन ?

प्रकाशित मिति:

भैरहवा, २२ वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी ले लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेका पत्रकारहरुलाई पुरस्कार वापतको रकम किन दिइएन भन्दै प्रश्न गरेकी छन् । सांसद् केसीले पुरस्कृत सम्पूर्ण पत्रकारहरुलाई तत्काल रकम उपलब्ध गराउन माग गरेकी हुन् ।लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकमा बोल्दै उनले भनिन्, ‘अहिलेसम्म सरकारले के हेरेर बसेको छ  यसले कस्तो सन्देश जान्छ होला रु पत्रकारलाई हामीले आजको दिनमा ढाँट्न र छल्न मिल्छ ?  यसतर्फ म प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्नु आफैमा महत्वपूर्ण कार्यक्रम भएको उनले बताइन् । मिडिया राज्यको चौथो अंग हो । सञ्चार क्षेत्रको भूमिका र महत्व कति छ भन्ने कुरा यहाँ बताइरहनु पर्दैन, ’उनले भनिन् ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी केसीले लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा प्रदेश राजधानी दाङको राप्ती उपत्यका, देउखुरीमा आयोजित विशेष समारोहमा १६ जना पत्रकारलाई आमन्त्रित गरी पुरस्कृत गरिएको बताइन् । उनले भनिन्, ‘अग्रज पत्रकारिता पुरस्कारबाट १ जनालाई, सिर्जनशील पत्रकारिता पुरस्कारबाट १२ र विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ जना पत्रकार गरी १६ जनालाई पुरस्कृत गरियो । पुरस्कारवापतको रकम पछि खातामा आउँछ भनेर खाता नम्बर पनि टिपाउन लगाइयो । तर, आजसम्म पनि पत्रकार महानुभावहरुले पुरस्कारवापतको रकम पाउनुभएको छैन, आखिर किन ? अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत १ जनालाई रु १ लाख, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत १२ जना तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ जनालाई जनही रु ५० हजार प्रदान गरिएको भन्ने सम्मानपत्रमा उल्लेख छ । तर, आजसम्म पनि पत्रकारले पुरस्कारवापतको रकम नपाएको सांसद् केसीले गुनासो गरिन् ।