मापसेमा परेका ४२३ चालकको लाइसेन्स खारेज

प्रकाशित मिति:

१८ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक/पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार एक् सय ९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

पहिलोपटक एक लाख ३७ हजार नैं सय ५२, दोस्रो पटक २६ हजार सात सय २७, तेस्रो पटक आठ हजार आठ सय ४०, चौथो पटक तीन हजार एक सय २३ र पाँचौ पटक एक हजार एक सय ३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । ‘खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।’ आर्थिक वर्ष २०७०/७१ मा ५२, आव २०७१/७२ मा एक् सय २२, २०७२/७३ मा एक सय ३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।