१८ पुस, बुटवल । महिलाहरुले मात्रै सञ्चालन गरेको रेडियो दिदीबहिनी पर्वतले एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव गर्ने भएको छ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पारेर महोत्सव गर्न लागेको रेडियोले जनाएको छ । बुधबार महोत्सवको सन्देश बाड्न बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रेडियोका अध्यक्ष कल्पना चापागाईले महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शनका लागि महोत्सव गर्न लागिएको बताईन । आउदो फागुन १७ देखि २५ गतेसम्म पर्वतको कस्मामा महोत्सव हुनेछ ।पूर्व सांसद रहेकी चापागाईले महिलाहरुले समाजमा सकरात्मक सन्देश दिनका लागि महोत्सव सञ्चालन गर्दै आएकाले सबैले साथ र सहयोग गर्न आग्रह गरिन । पत्रकार सम्मेलनमा पूर्व सांसद एंव रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले एउटा सञ्चार माध्यमले नौं दिनसम्म उत्सवको रुपमा महोत्सव मनाउने कुरा सामान्य नभएको भन्दै महोत्सव सफलताको कामना गरे । कार्यक्रममा स्वागत गर्दै बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौदारले सञ्चार माध्यमले गर्ने रचनात्मक कामले समाजलाई मार्ग निर्देश गर्न सहयोग गर्ने बताए ।
महोत्सवममा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताका साथै प्रथम दिदीवहिनी डान्स आईडल प्रतियोगित, खुल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन प्रतियोगिता, पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्याङ्गय प्रस्तुती, जनचेतनामुलक कार्यक्रम प्रस्तुती र जेष्ठनागरिक, अनाथबालबालिका, एकलमहिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।त्यसैगरी पशु प्रदर्शनी, कृषिप्रर्दशनी साथै महिलाउद्यमी र विशिष्टव्यक्तित्वहरुलाई सम्मान कार्यक्रम सञ्चालन हुने छ । महोत्सवका अवसरमा तेश्रो दिदीवहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने छ । उक्त प्रतियोगितामा विभागिक टिम सहित अन्य समूहको सहभागिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले २ लाख पुरस्कार पाउनेछन ।दिदिवहिनि २०६६ साल फागुन २४ गते १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे थियो ।












