सांसदको सपथ खाएर रेशम चौधरी जेल जाने

प्रकाशित मिति:

काठमाडौं, १९ पुस – कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीले सांसदको सपथ लिएसँगै उनी पुन: जेल जाने भएका छन् । चाैधरीको सपथ बिहान साढे ११ बजे सिंहदरबारमा हुनेछ । सपथका लागि चौधरीलाई प्रहरीले सिंहदरबार पुर्‍याएकाे छ भने सपथपछि फेरि जेल लैजाने सभामुख कृष्ण बहादुर महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने संयोजक मल्लले बताए । चौधरीलाई राजपा र सरकारबीच भएको सहमतिअनुसार सपथ खुवाइएको हो । उनले सपथग्रहणको प्रमाणपत्र मात्र पाउनेछन् ।

प्रतिनिधि सभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पनि पाउने छैनन् । संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो । निर्वाचित भए पनि उनको सपथ भएको थिएन । घटना भएको झण्डै ३० महिनापछि गत असार १४ गते चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका त्यसपछि उनलाई प्रहरीले जेल हालेको छ । चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । चौधरीमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले चौधरीलाई सपथ खुवाउनु पर्ने माग पटक पटक गर्दै आएको थियो । पुस १० गते भएको राजपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय मागेका थिए । पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीलाई छिटो सपथ खुवाउनु पर्ने माग गरेका थिए । प्रधानमन्त्रीले राजपासँग भएको राजनीतिक सहमतिअनुसार चौधरीलाई सपथ मात्र खुवाउने निर्णय लिएका हुन् ।