काठमाडौं, १९ पुस – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सिंहदरबार पुगेर सांसद रेमश चौधरीले थारूभाषामा सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।
कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए । टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।
फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।












