नलपरासी । बर्दघाट नगरपालिकाद्वारा कृषकलाई २३ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ। नगरले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न ५०% अनुदानमा मकैको बीउ तथा विभिन्न कृषि उपकरण वितरण गरेको छ।
बर्दघाट-१२ स्थित सुनगाभा कृषक मूल समितिमा आयोजित कार्यक्रममा नगरपालिकाले मकैको बीउसहित विभिन्न आधुनिक उपकरण कृषकहरूलाई हस्तान्तरण गरेको हो। नगरले कृषकहरूलाई ११ लाख ९७ हजार २ सय रुपैयाँ र कृषकले ११ लाख १ हजार रुपैयाँ गरी २३ लाख ४ हजार रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ। मकैको बीउ ६ सय केजी, मकै छर्ने मेसिन ६ वटा, मकै छोडाउने मेसिन ५ वटा, स्प्रेर टेङ्की २३ वटा, दाना बनाउने मेसिन ३ वटा, पम्पसेट १० वटा, समरसियल पम्प ८ वटा, स्यालो टुवेल २ वटा सामाग्री वितरण गरिएको बर्दघाट १२ का वडा अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनु भयो।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले कृषिलाई आधुनिक बनाउन प्रविधिको उपयोग आवश्यक रहेको बताउनु भयो। “अब कृषि व्यवसाय व्यावसायिक रूपमा अघि बढाउनुपर्छ। निर्वाहमुखी खेतीले मात्रै कृषि व्यवसाय टिक्दैन,” उहाले भन्नु भयो। श्रेष्ठले वडा नं. १२ र १३ लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै कृषकहरूले नगरपालिकाले वितरण गरेका सामग्रीको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो।












