१९ वैशाख, अर्घाखाँची । डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा लुम्बिनी प्रदेशका तीन जिल्लाका पत्रकारहरूलाई लक्षित गरी विशेष तालिम सुरु गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो। तालिम अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारामा शुक्रबारदेखि सुरु भएको हो।
दाङ, कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट ४० भन्दा बढी पत्रकार सहभागी छन्। प्रशिक्षक किरण कौशलले समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका डिजिटल प्रविधिबारे सहजीकरण गरेका छन् भने अर्का प्रशिक्षक जीवन भण्डारीले एआईको प्रयोग, तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली (CMS) तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका विषयमा प्रशिक्षण दिएका छन्।
कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मीना ढकालको स्वागत मन्तव्य रहेको थियो, भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद आचार्यले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन महासचिव पाण्डव शर्माले गरेका थिए। तालिम लुम्बिनी प्रदेशका १२ बटा जिल्लाका पत्रकारलाई समेट्ने गरी ६ स्थानमा आयोजना गरिने अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए ।