डिजिटल मिडिया र एआई प्रयोग तालिम सम्पन्न, ४० भन्दा बढी पत्रकार सहभागी

प्रकाशित मिति:

भालुवाङ- वैशाख – अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा सञ्चालित दुई दिने डिजिटल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ।लुम्बिनी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिद्वारा सञ्चालित तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा प्रशिक्षक जीवन भण्डारी र किरण कौशलले पत्रकारितामा एआईको प्रयोग, समाचारको तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली तथा सामाजिक सञ्जालको सदुपयोगलगायत विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापन महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता तथा मन्त्रालयका उपसचिव कृष्ण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। वक्ताहरूले एआई प्रविधिबाट पत्रकारिता थप प्रभावकारी हुने बताउँदै यस्ता सीप सिकाइ महत्त्वपूर्ण रहेको औंल्याए।महासंघले लुम्बिनी प्रदेशका १२ जिल्लालाई समेट्ने गरी ६ स्थानमा यस्ता तालिम सञ्चालन गरिरहेको छ। बर्दियाको ठाकुरद्वाराबाट शुरू गरिएको तालिमको दोस्रो चरण अर्घाखाँचीमा सम्पन्न भइसकेको छ भने आगामी चरण प्युठान, रुकुमपूर्व, गुल्मी र रूपन्देहीमा हुने बताइएको छ।